जीवन खड्का
प्यूठान,९ चैत्र ।
आज मार्च २२ अर्थात विश्व पानी दिवसको अवसरमा प्यूठान सहित देशभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ । यसैविच बिश्व पानी दिवसको अवसरमा प्यूठानमा अन्र्तक्रिया कार्यक्रम गरी मनाईएको छ । जिल्ला समन्वय समिति प्यूठानको सभाहलमा भएको कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समिति प्यूठानका स्थानिय विकास अधिकारी ईन्द्रप्रसाद बस्याल रहनुभएको थियो भने प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल रहनुभएको कार्यक्रमको सञ्चालन खानेपानी तथा सरसफाई उपभोक्ता महासँघ प्यूठानका राम पहाडीले गर्नुभएको थियो ।
उक्त अन्र्तक्रिया कार्यक्रममा बोल्दै पश्चिम नेपाल खानेपानी सरसफाई परियोजना प्यूठानका सल्लाहकार प्रमोदलाल श्रेष्ठले सन् २०१७ सम्म प्यूठान जिल्लालाई पूर्ण सरसफाई युक्त जिल्ला घोषणा गर्ने कामलाई पानीकैै कारण उक्त अभियान अलपत्र पर्न सक्ने बताउदै साविकको स्वर्गद्धारी खाल गाविसको धनवाङ्गलाई जिल्लाको पहिलो वडाको रुपमा पूर्ण सरसफाई युक्त घोषणा गरे लगत्तै अहिले सम्म जिल्लाका २५ वटा वडालाई पुर्ण सरसफाई युक्त वडा घोषणा गरेकाले जिल्लालाई निर्धारित समयसम्म पूर्ण सरसरफाई युक्त जिल्ला घोषणा अभियानमा सवै प्यूठानी जनसमुदायलाई अपिल समेत गर्नुभयो ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जसरी जिल्लालाई मध्यपश्चिम विकास क्षेत्रको पहिलो खुल्ला दिशा मुक्त क्षेत्र घोषणा अभियानलाई तीव्र पारिएको थियो त्यसरीनै यो अभियानमा प्यूठानी जनता होमिए यो अभियान सफल हुने बताउनुभयो ।
साथै स्थानिय विकास अधिकारी ईन्द्र प्रसाद वस्यालले जिल्लामा पानीको मुहान प्रसस्त रहेकाले यस्लाई सही ढँगले सदुपयोग गरी सन् २०१७ सम्म प्यूठान जिल्लालाई पूर्ण सरसफाई जिल्ला घोषणा गर्न सकिने बताउनुभयो ।
खानेपानी तथा सरसफाई उपभोक्ता महासँघ प्यूठान,जिल्ला समन्वय समिति प्यूठान पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना दास्रो चरण प्यूठान,जिल्ला खानेपानी तथा सरसफाई डिभिजन प्यूठान र पहल कार्यक्रमको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।